Monday, October 29, 2012

विदेशीलाई नागरिकता दिलाउने नक्कली दाजु पक्राउ

चौतारा, कार्तिक १३ -
नक्कली दाजु बनेर विदेशी युवतीलाई नागरिकलाई नागरिकता प्रमाणपत्र दिलाउने सिन्धुकाट–९ का एक युवक पक्राउ परेका छन् । नागरिकता दिलाउन सहयोग पुर्याउने गिरोहको खोजीका क्रममा प्रहरीले वाङ दोर्जे लामालाई भोटेचौरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत भदौ २० गते वाङदोर्जेले दाजु बनेर जिल्ला प्रशासन कार्यालयमा सनाखत गरी गैरनेपाली २९ वर्षीय पेमा लामालाई नागरिकता दिलाएका थिए । नक्कली दाजु लामा निकट स्रोतका अनुसार नागरिकता दिलाउन सहयोग पुर्याउने समूहबीच आर्थिक लेनदेन नमिलेकाले गाविस सचिवले नै जिल्ला प्रशासनमा फोन गरेर नागरिकता गलत मान्छेले पाएको सूचना दिएका थिए ।
स्रोतका अनुसार नागरिकता बनाएपछि सचिव नवराज सेन ट्याक्सी र लेखनदास मोटरसाईकलमा राजधानी गएका थिए । उक्त दिन वाङदार्जे भने चौतारा वसेका थिए । गाविस सचिव सेन, लेखनदास, स्थानीय र प्रहरीको मिलेमतोमा विदेशीलाई नागरिकता दिएको अनुमानमा अनुसन्धान सुरु गरिएको छ । नागरिकता लिने वितिक्कै राहादानीका लागिसमेत सोही दिन सिफारिस भैसकेको अवस्थामा विदेशीले नागरिता पाएको रहस्य खुलेको थियो । नागरिकता लिने विदेशी भुटानी वा तिब्बतीयन नागरिक भएको प्रहरीको अनुमान छ ।
गाविस सचिव सेनले सोही गाविसका ज्याकु लामा वावु र फूलसानी लामा आमा बनाएर जन्म दर्ता र नागरिकताको सिफारिस गरेका थिए । ईलाका प्रहरी कार्यालय मेलम्चीका निरीक्षका लोकहरि खनालका अनुसार घटनामा संलग्नहरुमाथि अनुसन्धान गर्ने क्रममा नक्कली दाजु वाङदोर्जे राजधानी जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो । शंका लागेकाले जिल्ला प्रशासनले पेमालाई नागरिकता दिन सम्वन्धित गाविसको मुचुल्का माग गरेको थियो ।
जिल्ला प्रहरीले सम्वन्धित प्रहरी चौकी र गाविसलाई थाहै नदिइ जिल्ला प्रशासनको पत्र प्राप्त भएकै दिन सदरमुकाममै बसेर मुचुल्का तयार गरेको अनुसन्धानबाट खुलेको छ ।  सिन्धुकोट १, ३, ८ र ९ का वासिन्दाको नामबाट मुचुल्का तयार गरिएको छ । सोही मुचुल्का, गासिको सिफारिस र प्रहरीको विश्वासमा नागरिकता प्रदान गरेको थियो । घटनामा संलग्नहरुमाथि निगरानी राखिरहेका छौं, प्रहरी नायव उपरीक्षका प्रतापकुमार गुरुङले भने, प्रमाण जुटाएर कानुन वामोजिम कार्वाही गरेर छाड्छौ ।

Source-ekantipur

No comments:

Post a Comment