Sunday, November 4, 2012

ओबामाका पक्षमा अमेरिकी नेपाली

न्युयोर्क, कार्तिक १९ - फ्लोरिडाको वेस्ट पाम बिचका सुन्दर जोशी स्वतन्त्र मतदाताका रूपमा 'रजिस्टर्ड' छन् । यद्यपि मंगलबारको अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि जोशीले आफ्नो भोटको निर्णय भने गरिसकेका छन् । अमेरिका बसाइको डेढ दशक लामो अनुभव संगालेका उनले चार वर्षअघिझैं यस पटक पनि बाराक ओबामालाई मत दिने निक्र्योलमा छन् । भने, 'जिते पनि हारे पनि ओबामालाई नै भोट हाल्छु ।'
उसो त जोशी ओबामाको अघिल्लो चारवर्षे कार्यकालप्रति बेखुसी छन् । तापनि ओबामाका नीति दीर्घकालीन रूपमा राम्रा रहेका र अल्पसंख्यक समुदायका लागि डेमोक्रयाट पार्टी ठीक रहेको उनको तर्क छ । यस पटकको निर्वाचनको नजितालाई प्रभाव पार्ने ठानिएको दक्षिण-पूर्वी राज्य फ्लोरिडाको पछिल्लो चरणको मतसर्वेक्षणमा रिपब्लिकन प्रत्यासी मिट रोम्नीभन्दा ओबामा थोरैले पछि परेकोमा चिन्तित जोशीको विचारमा अघिल्लो चार वर्षमा आप्रवासी सम्बन्धी नीतिलाई कानुनी बाटो दिन नसक्नु र पहिलो राष्ट्रपतीय चुनावी बहसमा चुक्नुले ओबामाले फ्लोरिडाको २९ इलेक्टोरल भोट गुमाउने खतरा छ । यद्यपि उनी अर्को महत्त्वपूर्ण रणक्षेत्र ओहायोप्रति आशावादी छन् । थप्छन्, 'उनले चुनाव जित्छन् भन्ने मलाई विश्वास छ ।'
अर्काे अनिणिर्त चुनावी मैदान कोलोराडोका नारायण श्रेष्ठ ओबामाका कट्टर समर्थक हुन् । उनले यसपालि सातौंपटक राष्ट्रपतीय चुनावमा मत हाल्दै छन् । सन् १९८८ मा रिपब्लिकन जर्ज बुस सिनियरविरुद्ध डेमोक्रयाट उम्मेदवार माइकल डुकाकिसलाई पहिलो पटक मत हालेका व्यवसायी श्रेष्ठ नरम आप्रवासी नीतिका कारण डेमोक्रयाट पार्टीप्रति झुकाव राख्छन् । साढे तीन दशकदेखि यहाँ बसिरहेका श्रेष्ठले भने, 'मध्यम र निम्नवर्गीय परिवार केन्दि्रत डेमोक्रयाट पार्टीको नीति हाम्रो लागि उपयुक्त छ ।'
कोलोराडोकै अर्का नेपालीमूलका बानेस रजौरेको रोजाइ पनि ओबामा नै हुन् । पहिलो पटक राष्ट्रपतिका लागि मत दिन गइरहेका रजौरे ओबामा प्रशासनको युद्वविरोधी नीतिबाट प्रभावित छन् ।
अमेरिकी निर्वाचनमा नेपाली मूलका मतदाताहरूको संख्या सानो आकारमा रहे पनि अधिकांशले रिपब्लिकनको तुलनामा डेमोक्रयाट पार्टीलाई समर्थन गर्ने पक्षलाई स्वाभाविक बताउँछन्, राजनीतिक विश्लेषक डा. चित्रकृष्ण तिवारी । उनका अनुसार अमेरिकी राजनीतिको परम्परागत मान्यतामा विदेशी नीतिमा रिपब्लिकनहरू बलिया एवं आन्तरिक मामिलामा डेमोक्रयाट पार्टी सशक्त हुने विश्वास गरिन्छ । उनी भन्छन्, 'विदेशी नीति आप्रवासीहरूको सरोकारको विषय होइन । त्यसैले घरेलु मामिलामा अब्बल मानिने डेमोक्रयाट पार्टीप्रति आप्रवासीहरूको झुकाव हो ।' तिवारीले थपे, 'रैथानेहरूको रिपब्लिकन पार्टीको तुलनामा स्थायित्वका लागि संर्घषरत आप्रवासीहरूका लागि डेमोक्रयाट उपयुक्त पार्टी हो ।'
दुई पार्टीबीच मुख्यतः आर्थिक र सामाजिक विषयहरूमा स्पष्ट मतभेद देखिन्छ । रिपब्लिकन पार्टी आर्थिक मुद्दामा केन्द्रीय सरकारको भूमिकाको विपक्षमा देखिँदै आएको छ भने डेमोक्रयाटहरू आर्थिक मामिला र रोजगार सम्बन्धमा सरकारको प्रभावकारी भूमिका पक्षमा रहँदै आएका छन् । धर्म, संस्कृति लगायत गर्भपतन, समलिंगी विवाहजस्ता सामाजिक विषयमा केन्द्रीय सरकारको हस्तक्षेपका पक्षपाती रिपब्लिकन पार्टीको तुलनामा उदार डेमोक्रयाटहरू सामाजिक मूल्यमान्यतामा सरकारको भूमिकालाई रुचाउँदैनन् । यसकै आधारमा ओबामा र रिपब्लिकन प्रत्यासी मिट रोम्नीका चुनावी एजेन्डाहरूमा भिन्नता छ ।
सन् ७० को दशकदेखि अमेरिकामा बस्दै आएका मेरिल्यान्डका श्याम कार्की राष्ट्रपतीय चुनावका 'रजिस्टर्ड डेमोक्रयाट' हुन् । सन् १९७६ मा डेमोक्रयाट
उम्मेदवार जिमी कार्टरलाई पहिलो पटक मत दिएका औषधि विज्ञान विशेषज्ञ कार्कीले त्यसपछिका हरेक निर्वाचनमा त्यही पार्टीलाई समर्थन गर्दै आएका छन् र यस पटक पनि उनले गत साता नै ओबामालाई मत दिइसकेका छन् । 'अर्थतन्त्र त जर्ज बुसका पालामा भताभुङ भएको हो,' कार्की भन्छन्, 'ओबामाले बिगि्रएको अर्थतन्त्रलाई सही दिशामा ल्याउँदै छन् । उनलाई हाम्रो समर्थन जरुरी छ ।'
स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयहरूमा अल्पसंख्यक समुदायको पहुँच डेमोक्रयाट पार्टीकै कारण सम्भव बताउने कार्की ओबामाको जितले अमेरिका सर्वाेच्च न्यायपालिकाको स्वरूप परिवर्तन हुने र यसबाट आप्रवासी समुदाय लाभान्वित हुने सक्ने राय राख्छन् । अमेरिकी सर्वाेच्च अदालतमा लामो समय कट्टरपन्थी न्यायाधीशहरूको बाहुल्य रहेको पृष्ठभूमिमा ओबामा राष्ट्रपति भएपछि दुईजना नरमपन्थी न्यायाधीश अमेरिकी सर्वाेच्च निकायमा प्रवेश गर्न सफल भएका थिए । कुल नौ न्यायाधीश रहेको फुल बेन्चमा दुवै पार्टी निकट चार-चार एवं एक तटस्थ न्यायाधीश छन् । ओबामा पुनः निर्वाचित भए सर्वोच्च अदालतमा छिट्टै रिक्त हुने दुई पदमा 'लिबरल' हरूले प्रवेश पाउन सक्ने र त्यसले आप्रवासी लक्षित ओबामा प्रशासनको नीतिगत कार्यक्रमलाई सहज बनाउने तर्क गर्छन् कार्की ।
रिपब्लिकनहरूको जगजगी रहेको दक्षिण-पूर्वी राज्य जर्जिया बस्ने व्यवसायी राजा घले आफूलाई कट्टर डेमोक्रयाट बताउँछन् । दोस्रो पटक राष्ट्रपतीय निर्वाचनमा मत हाल्न गइरहेका घलेले भने, 'पहिलेझैं अहिले पनि १६ इलेक्टोरल भोट रहेको जर्जिया रिपब्लिकन पार्टीकै पक्षमा जाने निश्चित छ । तर पनि हाम्रा नेता ओबामा नै हुन् ।'
उता ओबामा पार्टीको 'भोट बैंक' मानिने क्यालिफोर्नियामा व्यापार व्यवसाय गरिरहेका गोकुल पौडेल ओबामाको पुनः जित हुनेमा ढुक्क छन् । भर्जिनियामा बस्ने रिता तिवारी हुन् वा नर्थ क्लारोलिनाका रविन कार्की ओबामाको चुनावी अभियानमा सक्रिय छन् । कोलम्बिया युनिभर्सिटीका पूर्व प्राध्यापक डा. तारा निरौला भन्छन्, 'किनभने ओबामाको जित-हारले आप्रवासीको भविष्यलाई प्रभावित पार्नेछ ।'


Source-ekantipur

No comments:

Post a Comment