Sunday, November 4, 2012

मन्त्रीको निर्देशनमा मदिराजन्य होर्डिङ बोर्ड राखिए

काठमाडौ, कार्तिक १९ - संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो निर्देशनमा काठमाडौं महानगरपालिकाले मदिराजन्य होर्डिङ बोर्ड राख्न दिनुपरेको नगरपालिकाका कर्मचारीले जनाएका छन् ।
स्रोतका अनुसार, मन्त्री श्रेष्ठले महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलाई नयाँ तथा पुराना मदिराजन्य होर्डिङ बोर्ड राख्नमा अवरोध नपुर्‍याउन निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि महानगर मदिराजन्य होर्डिङ बोर्ड राख्न नदिने निर्णय परिवर्तन गर्न बाध्य भएको छ ।
यसअघि नगरपरिषद्को लगातार तीनवटा बैठकले नगरक्षेत्रभित्र मदिराजन्य होर्डिङ बोर्ड राख्न नदिने निर्णय गरेको थियो । तर, मन्त्री श्रेष्ठले महानगरका कार्यकारी अधिकारीलाई करिब डेढ महिनाअघि आफ्नै कार्यकक्षमा बोलाएर होर्डिङ राख्न दिन भनेका थिए ।
'मन्त्रीबाटै मदिराजन्य होर्डिङ बोर्ड राख्न निर्देशन दिएपछि कार्यकारीले केही गर्न सक्दैन,' स्रोतले भन्यो । सात महिनाअघि कार्यकारी अधिकृत अधिकारीले सबै क्षेत्रका होर्डिङ बोर्ड हटाउन नगर प्रहरीलाई निर्देशन दिएको थियो । नगरप्रहरीले होर्डिङ बोर्ड हटाउन तीव्रता बढाएको थियो । मन्त्री श्रेष्ठले निर्देशन दिनुअघि व्यवसायीहरूको टोलीले उनलाई होर्डिङ हटाउने कार्य रोक्न आग्रह गरेका थिए ।
अहिले राजधानीका मुख्य भागहरू, रेस्टुरेन्ट लगायतका क्षेत्रमा छ्याप्छ्याप्ती होर्डिङ बोर्डहरू देखिन्छन् । उक्त विषयमा मन्त्री श्रेष्ठसूग पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

Source-ekantipur

No comments:

Post a Comment