Thursday, November 1, 2012

अफगानिस्तानमा मारिने दुई जना मध्ये एक जना मात्रै नेपाली

काठमाडौँ, कात्तिक १६ (नागरिक) - अफगानिस्तानको हेल्मन्ड प्रान्तको नहर-ए- सराज जिल्लामा हत्या गरिएका द रोयल गोर्खा राइफल्सको फर्स्ट बटालियनमा कार्यरत दुई जना मध्ये एक जना मात्रै नेपाली रहेको खुलेको छ।

मंगलबार भएको घटनामा मारिने दुई जनाको नाम आज सार्वजनिक गरिएको छ।

मारिने दुई जना मध्ये एक जना लेफ्टिनेन्ट ड्रममन्ड बाक्स्टर हुन् भने अर्का लान्स कर्पोरल सिद्धान्त कुँवर। अफगानी प्रहरीको वर्दी लगाएका व्यक्तिले गोली हान्दा उनीहरुको मृत्यु भएको थियो।

'फर्केर बिहे गर्छु भन्ने वाचा गरेको थियो'
मनोज घर्तीमगर, पोखरा, कात्तिक १६ - ब्रिटिस गोर्खा सैनिक सिद्धान्त कुँवरलाई घरबिदामा आउँदा घरपरिवार बिहे गर्न कर लगाउँथे। लाहुरे छोराको छिट्टै बिहे गर्न पाए हुन्थ्यो भन्ने बाबुआमाको चाहना अब पूरा नहुने भएको छ।
अफगानिस्तानको हेलमन्ड प्रान्तअन्तर्गत नहर-ए-सराज जिल्लाको चेक प्वाइन्टमा मंगलबार दिउँसो अफगानी प्रहरीको पोसाक लगाएर आएका विद्रोहीले २८ वर्षीय कुँवरको ज्यान लिएका छन्। रोयल गोर्खा राइफल्सको फस्ट बटालियन सी. कम्पनीमा कार्यरत उनीसँगै अर्का एक बेलायती सैनिकको पनि मृत्यु भएको छ।
सन् २००५ डिसेम्बरमा भर्ती भएका पोखरा-१० रामबजारका सिद्धान्त त्यसयता १० पटक बिदामा घर आए। 'म अफगानिस्तान जानु छ, त्यहाँ लडाइँ चलिरहेको छ। कतिबेला के हुने हो, थाहा छैन। बेकारमा किन बिहे गर्ने?' उनी परिवारलाई सम्झाउँथे।
गत साउनमा एक महिनाको बिदा लिएर आएका उनले यसपटक भने परिवारसँग वाचा गरेका थिए, 'अफगानिस्तान यो मेरो अन्तिमपटक हो, त्यसपछि लडाइँमा जानुपर्दैन, अनि बिहे गरौंला।' घरपरिवारसँग गरेको वाचा पूरा गर्न नपाई उनी मंगलबार अफगानिस्तानमा विद्रोहीको गोलीको सिकार बने।
सिद्धान्तको मृत्युको खबरले परिवार शोकाकुल छ। 'अफगानिस्तानमा अब म अन्तिमपटक खटिएको छु, फर्केपछि बिहे गर्छु भनेको थियो,' दाजु भुपेन्द्रले सम्भि्कए, 'अफगानमा लडाइँ छ, कतिबेला के हुने हो भन्न सकिन्न, किन अर्काको छोरीलाई अप्ठ्यारोमा पार्ने भन्थ्यो। आज यस्तो हुन लेखेको रहेछ।'
सिद्धान्तका बुबा र बाजे पनि गोर्खा भूपू सैनिक हुन्। 'फौजीको ज्यान सधैँ खुकुरीको धारमा हुने भएकाले मैले छोरालाई भर्ती नहुन धेरै सम्झाएको थिएँ,' भावविह्वल बाबु श्मामकुमारले भने, 'उसकै चाहना र दिदीहरुको इच्छाले लाहुरेे भयो, कर्म छोटो रहेछ।'
सिद्धान्तकी भाउजू कोपिलाले दसैंको बेला आफ्ना देवरसँग धेरै कुराकानी गरेको बताउँदै एक साताअघि उनका लागि केही सामान पठाएको बताइन्। 'मैले भटमास, चाउचाउ, चिउरालगायत सामान पठाइदिएकी थिएँ,' उनले भनिन्, 'सामान पुग्न नपाउँदै बाबु मृत्यु भएको खबर आयो, भाग्यमा कस्तो लेखेको रहेछ।'
पढाइमा तेज सिद्धान्त भर्तीमा पहिलोपटकमै छनोट भएका थिए। पोखराको एसओएस उच्च माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एलएलसी गरेका कुँवरले कालिका बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा प्रमाणपत्र तह पास गरेपछि लाहुरे बनेका थिए। उनको परिवारमा चार दिदी, एक दाजु, बुबा र कान्छी आमा छन्। साउनमा एक महिने बिदा सकेर रक्षाबन्धनका दिन बेलायत फर्केका उनी अक्टुबर ३ बाट अफगान खटिएका थिए।
टास्क फोर्स हेलमन्डका प्रवक्ता मेजर लारेन्स रोचले घटनाप्रति दुःख व्यक्त गर्दै रोयल गोर्खा राइफल्स र टाक्स फोर्स हेलमन्डमा सेवारत सबैलाई घटनाले ठूलो झट्का दिएको बताएको समाचार एजेन्सीहरुले जनाएका छन्। 


Source-nagariknews

No comments:

Post a Comment