Tuesday, October 30, 2012

अब प्रहरी हाँस्लान् ?

काठमाडौ, कार्तिक १४ - हामीकहाँ प्रहरी किन रुखो व्यवहारका लागि परिचित छन् ? हुने-नहुने जे भए पनि हाँसेर बोलिदिए हुन्थ्यो नि । महानिरीक्षक कुवेरसिंह रानाले आफ्नो १४ महिने कार्यकालबाट सिद्ध गराउन खोजेको सबैभन्दा पहिलो उद्देश्य हो, 'प्रहरी सेवाग्राहीसँग मनैदेखि हाँसून् ।' हाँसेर गरेको 'सर्भिस डेलिभरी' पक्कै राम्रो हुन्छ ।
रानाले यो उद्देश्य पूर्ति गर्न जवान भर्ती प्रक्रियामै परिवर्तन ल्याउने भएका छ्न् । उनले नयाँ भर्ना र तालिम पद्धतिमै आमूल परिवर्तन गरिने कान्तिपुरसँग बताए । 'जवानहरूलाई तालिम दौरान इन्ड्युरेन्स (सहनशीलता) का नाममा इन्ह्युमन (अमानवीय) अवस्था र व्यवहारमा राख्ने परम्परा चल्दै आएको छ,' उनले भने, 'त्यस्तो तालिमबाट आएको प्रहरीले जनतामाझ गएर कस्तो व्यवहार गर्ला ? यसप्रति अब सोच्ने बेला भएको छ ।'
नेपाल प्रहरीले एक्काइसौं शताब्दीको वैज्ञानिक युगमा पनि बेलायती साम्राज्यले तत्कालीन उपनिवेश राष्ट्रहरूमा मिलिसिया भर्ती गर्दा प्रयोग गरेको तालिम पद्धति नै अपनाउँदै आएको छ । यो पद्धतिमा भर्ती भएको मानिसले हाकिमले जे अह्रायो त्यो गर्नुपर्छ, अह्राउने जस्तोसुकै होस्, जेसुकै गरो्स् । विसं २०१२ मा नेपाल प्रहरी गठन हुनुपूर्व नेपालमा पनि प्रहरीको काम राणा शासकहरूले अंग्रेजहरूको सिको गर्दै नियुक्त गरेका मिलिसियाहरूबाट हुन्थ्यो । सेनाले त्यही पद्धति अँगालेको थियो । प्रहरीले सेनाबाटै सिको गरेको विज्ञहरूको भनाइ छ ।
परिवारको आश्रयमा हुर्केको एउटा नवयुवकले प्रहरी जवानमा भर्ती भएको भोलिपल्टदेखि कठोर तालिममा होमिनुपर्छ, छ महिनासम्म । बिहान ५ बजेदेखि राति दस बजेसम्म पिटी, परेड, क्षमताले धान्नेभन्दा बढी व्यायाम, पट्यारलाग्दो पढाइ, केही मिनेटमा बुजो हालेर सक्नुपर्ने खानपिन । त्यसमाथि राति १२ बजे अचानक उठाएर गरिने चेन्जिङ परेड, सोही क्रममा भएजति कपडा बिग्रने गरी गराइने बहुलट्ठीपूर्ण अभ्यास ।
त्यसपछि रातभर लुगा धोऊ, आइरन गर । मुस्किलले निद्रा पाउँछन्् रिकुटेहरू । त्यति मात्र भए त हुन्थ्यो । तालिम दिने 'गुरुबा' हरूलाई असीमित अधिकार दिइएको हुन्छ, जस्तोसुकै स्वेच्छाचारी व्यवहार गर्न सक्छ्न् । प्रहरीलाई त्यति बेलैदेखि आपत्तिजनक गालीका शब्दहरू बोल्न र सुन्न बानी पर्छ । बढीमा सिपाही, हवल्दार तहका हुने ती प्रशिक्षकबाट महिला प्रहरीलाई कस्तो व्यवहार हुन्छ भन्ने विषयलाई केही महिनाअघि नेपाल प्रहरीले गरेका लैंगिक सर्वेक्षणमा समेत समेटिएको थियो । सर्वेक्षणका सहभागीहरूले गुरुहरूबाट प्रशस्त मात्रामा अपाच्य व्यवहार हुने उत्तर दिएका थिए ।
प्रहरी अधिकारीहरूले सहनशीलता र अनुशासन विकासका लागि यस्तो तालिम परम्पराको बचाउ गर्दै आएका हुन् । सहनशीलता र अनुशासनबाटै 'चेन अफ कमान्ड कायम' हुने उनीहरूको दाबी छ । तर सिधै जनसम्पर्क र अपराध नियन्त्रणमा सरिक हुने जवानहरूलाई तालिम दौरान शंकित नियन्त्रण (सस्पेक्ट कन्ट्रोल), आत्मरक्षा (सेल्फ डिफेन्स) र बोलीव्यवहार (इटिकेट) का न्यूनतम सीपहरू पनि नसिकाइने गरेको विज्ञहरू बताउँछन् ।
पहिले जुनियर अधिकृत र प्रहरी निरीक्षकको तालिममा समेत यही परम्परा कायम भएकामा पछिल्ला वर्षहरूमा व्यापक सुधार भएको छ । 'अधिकृतहरूलाई तालिममा कम्तीमा तपाईं भन्न सुरु भएको छ । तालिम पद्धतिमा पनि धेरै सुधार आएको छ,' एक सम्बद्ध अधिकारीले भने, 'तर दैनन्दिन रूपमा जवानले जनसम्र्पक गर्नुपर्ने हुँदा उनीहरूको तालिमलाई विशिष्टिकृत गर्न ध्यान दिनुपर्छ ।'
'कन्स्टेबलहरूलाई दिइने तालिमबाट प्रहरीको छवि धेरै हदमा बदलिन्छ,' नेपाल प्रहरीको नयाँ कार्ययोजना निर्माणमा संलग्न एक वरिष्ठ अधिकारीले भने, 'हामी परिमार्जनको तयारीमा छौं ।

Source-ekantipur

No comments:

Post a Comment