Wednesday, November 21, 2012

१५ मिनेटमै सकियो ‘बजेट भाषण’

प्रतिपक्षी दलहरूको विरोधका बीच सरकारले जम्माजम्मी १० वटा बुँदामा समेटिएको ‘बजेट’ सार्वजनिक गर्‍यो । आकार ठूलो भए पनि यसमा बजेटको कुनै स्वरूप छैन ।राष्ट्रपति डा. रामवरण यादवले पनि तत्कालै बजेट अध्यादेश स्वीकृत गरेका छन् । सरकारले मंगलबार दिउँसो पेस गरेको बजेटसम्बन्धी अध्यादेश राष्ट्रपति डा. यादवले बेलुका प्रमाणीकरण गरेका हुन् । सरकारले राष्ट्रपतिसमक्ष मंगलबार दिउँसो ३ खर्ब ५१ अर्ब ९३ करोड ६७ लाख रुपियाँको बजेट अध्यादेश पेस गरेको थियो ।
पूर्णबजेटमा प्रमुख राजनीतिक दलबीच सहमति जुट्न नसकेपछि सरकारले चालू आर्थिक वर्षको बाँकी आठ महिनाका लागि दुई तिहाई अध्यादेश बजेट सार्वजनिक गरेको हो । गत आर्थिक वर्षको वास्तविक खर्चको आधारमा चालू आर्थिक वर्षको बाँकी अवधिका लागि सो रकम विनियोजन गरिएको छ ।
हाल जारी गरिएको बजेटमा यसअघि गत असार ३१ गते गरिएको एक तृतीयांश बजेटको रकमसमेत समेटिएको छ । मंगलबार मन्त्रिपरिषद्ले पारित गरेको दुई तिहाई बजेटलाई राति अबेर राष्ट्रपतिले अनुमोदन गरेपछि अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले १५ मिनेटमै बजेट वक्तव्य पढिसिध्याए । आजको सौर्य दैनिकमा समाचार प्रकाशित छ । उनले सहमतिमा पूर्णबजेट ल्याउने बाटो खुला राखेर दुईतिहाइ बजेट ल्याइएको बताए । ‘यो दुईतिहाइ बजेट गत वर्षको बजेटकै निरन्तरता हो । यसअघिको सरकारले ल्याएकै पुराना कार्यक्रमलाई हामीले निरन्तरता दिएकाले विपक्षी खुसी हुनुपर्ने हो । तिनीहरूले विरोध गर्नुको कुनै नैतिक आधार छैन,’ अर्थमन्त्री पुनले पत्रकार सम्मेलनमा भने ।
गत असार ३१ गते ल्याइएको एक तृतीयांश बजेटमा पनि यी निकायका लागि वर्षभरिकै बजेट व्यवस्था गरिएको थियो । सञ्चित कोषबाट व्ययभार हुने रकम दुई तिहाइ बजेटमा ३ खर्ब ६४ करोड १० लाख रुपैयाँ तोकिएको छ । कुल बजेट रकममध्ये चालूतर्फ २ खर्ब ४६ अर्ब ८७ करोड ३३ लाख रुपियाँ र पुँजीगततर्फ ५१ अर्ब ३४ करोड ३९ लाख र वित्तीय व्यवस्थातर्फ ५३ अर्ब ७१ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

No comments:

Post a Comment