Tuesday, November 6, 2012

आज अमेरिकी राष्ट्रपतीय चुनाव

न्युयोर्क, कार्तिक २१ - अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदैछ । नोभेम्बरको पहिलो मंगलबार हुने प्रचलनअनुसार राष्ट्रपति बाराक ओबामा र म्यासेच्युट्स राज्यका पूर्वगभर्नर मिट रोमनीबीच ह्वाइट हाउसको चुनावी दौड निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
पपुलर र इक्लेटोरल भोटका लागि मंगलबारको प्रतिस्पर्धामा दुवै उम्मेदवारले अमेरिकी अर्थतन्त्रलाई प्रमुख मुद्दा बनाएका छन् । मध्यम वर्गीय परिवार लक्षित चुनावी स्पर्धा जित्न ५ सय ३८ इलेक्टोरलमध्ये दुई सय ७० मत ल्याउनुपर्ने छ । अन्तिम समयको चुनावी तथ्यांक एवं सर्वेक्षणले जितका लागि ओबामालाई थप २७ मतको आवश्यकता देखाएको छ भने रोमनीले ६४ इलेक्टोरल मत आफ्नो पक्षमा पारे ह्वाइट हाउस हत्याउने छन् ।
अन्तिम घडीमा चुनाव सातवटा अनिर्णित राज्यमा अडिएको छ । फ्लोरिडा, ओहायो, आइवा, विस्कन्सिन, कोलोराडो, भर्जिनिया र न्युहयाम्सायरको इलेक्टोरल कलेज हात पार्न दुवै उम्मेदवार कस्सिएका छन् । यी राज्यहरूबाट ८९ इलेक्टोरल मतको निर्णय हुनेछ ।
मत सर्वेक्षणले तीन महत्त्वपूर्ण 'ब्याटलग्राउन्ड' राज्यमध्ये दुई फ्लोरिडा र भर्जिनियामा रोमनीको अग्रता देखाइरहेको स्थितिमा ओबामाले रिपब्लिकन उपराष्ट्रपति उम्मेदवार पाउल रायनको गृहराज्य विस्कन्सिनका अतिरिक्त न्युहयाम्सायर, कोलोराडो र आइवामा अग्रता लिइरहेका छन् । दुवै पक्षका सबैभन्दा बढ्ता जोड १८ इलेक्टोरल भोट ओहायोमा छन् । ओहायोबिना दुवैलाई चुनाव जित्न गाह्रो पर्ने बताइएको छ । अधिकांश सर्वेक्षणले ओहायो राज्यमा ओबामाको अग्रतालाई संकेत गरिरहेका छन् । अघिल्लो महिना अमेरिकामा एक लाख ७१ हजार रोजगार सिर्जना भएपछि ओबामालाई यसले फाइदा पुर्‍याउने देखिएको छ ।
उता समुद्री आँधी स्यान्डीले न्युयोर्कको जनजीवनलाई प्रभावित पारेपछि मंगलबारको चुनाव प्रभावित हुने सम्भावना भएको छ । मंगलबार २० प्रतिशतभन्दा कम मत खसे अर्को दिन फेरि गरिने भएको छ ।

source-ekantipur

No comments:

Post a Comment