Monday, November 5, 2012

पूर्व लडाकु हतियार बोकेका आरोपमा चेक बुझ्ने ठाउँमै पक्राउ

चितवन,कात्तिक १९ - शक्तिखोर शिविरबाट स्वेच्छिक अवकास रोजेर बाहिरिएका पूर्व लडाकु हतियार बोकेका आरोपमा चेक बुझ्ने ठाउँमै पक्राउ परेका छन्। चेक लिन आएका पूर्व लडाकु राजकुमार भनिने कमल कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको हो।
काठमाण्डौमा नाइन एमएम बन्दुक बोकेर हिडेँको आरोपमा उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो। गत फागुनमा सडकमा साथीलाई हतियार रहेको झोला बोकाएर हिडिँरहेका बेला उनीहरु प्रहरीको फन्दामा परेका थिए। सो क्रममा कार्की भाग्न सफल भएपनि उनका साथी प्रहरी नियन्त्रणमा परेका थिए।
साथीकै बयानका आधारमा हतियार रहेको झोला कार्कीको रहेको र आफूले बोकेको मात्र बताएपछि उनको खोजतलास बढेको थियो।
फरार रहेकै अवस्थामा जिल्ला प्रशासन कार्यालय चितवनको चेक वितरण गर्ने अस्थायी डेस्कमा चेक बुझ्न पुगेका उनलाई खोजतलास गरिरहेका प्रहरीले शनिबार अपराह्न फेला पारेका थिए। उनको प्रतिक्षामा रहेका प्रहरीले उनको नाम आउने बित्तिकै केही काम छ भनेर समातेर लगेका थिए।
उनीमाथि हातहतियार तथा खरखजानाको मुद्दा काठमाडौँमा दायर गरिएको छ।
सिन्धुपाल्चोक घर रहेका उनी विदेश जाने अन्तिम तयारीमा थिए। प्रहरीसँग भने उनले आफूमाथि गलत आरोप लगाइएको दाबी गरेका छन्। अन्तिम किस्ता बुझेर मात्र विदेश जाने तयारीमा रहेका कार्कीलाई बिनाकारण पक्रेको उनकी श्रीमतीले प्रहरीसँग बताएकी छिन्।कार्कीलाई पक्राउ परेलगत्तै आइतबार काठमाडौँको हनुमानढोका प्रहरी कार्यालय पठाइएको छ।

Source-nagariknews

No comments:

Post a Comment