Monday, November 5, 2012

तिहार नलाग्दै जुवाको खाल

ललितपुर, कार्तिक २० - प्रहरीले ललितपुरको बालकुमारीस्थित उद्धव बन्जराको घरमा चलेको जुवाको खालमा तीन दिनअघि छापा मार्‍यो । आठ जनाको जमातबाट करिव तीन लाख रुपैयाँ बरामद भयो । खालमा मात्रै दसौं हजार रकम फिँजाइएको अवस्थामा प्रहरीले छापा मारेको थियो ।
शनिबार राति सोही शैलीमा प्रहरी टोलीले इमाडोलको सेतिपाखास्थित सुजन शेरचनको घरमा छापा मार्‍यो । गोटी राखेर क्याल्कुलेटरबाट हिसाबकिताब गरी खेलिने खाल सञ्चालन भएको ठाँउबाट करिव डेढ लाख बरामद भयो । तिहार आउन डेढ साताभन्दा बढी बाँकी हुँदा राजधानीका धनाढ्य र सौखिनहरू लाखौं रकम बोकेर खालमा बस्न थालेका छन् ।
'ठूला घरानिया र सम्भ्रान्तहरू अनुकूल र गुप्त ठाँउमा बसेर खालमा रम्न थालिसके' महानगरीय प्रहरी परिसर ललितपुरका निरीक्षक अवदेश विष्टले भने, 'जुवाडेको खल्तीमा दसौं हजार र खालमा लाख भेटिन थालेको छ ।' दुई खाल र संलग्न जुवाडेबाट प्रहरीले करिव पाँच लाख रुपैयाँ बरामद गरेको छ ।
शेरचनले घरको दोस्रो तलामा जुवाको खाल सञ्चालन गरेका थिए । घटनामा संलग्न अनिल श्रेष्ठको साथबाट ३८ हजार बरामद भएको थियो भने केही बाहेक अधिकांशको साथमा दस हजारभन्दा बढी रकम थियो । एक युवतीको साथबाट एक हजार दुई सय अमेरिकी डलरसमेत बरामद भएको थियो । 'यसरी जुवा खेल्नेहरू घरानिया र सौखिन स्वाभवका भेटिएका छन्,' विष्टले भने । खालबाट प्रहरीले करिव ११ हजार रुपैयाँ, विभिन्न रंगका सयौं गोटी र क्याल्कुलेटर बरामद गरेको छ ।
बालकुमारीस्थित छापा मारिएको बन्जराको घरमा भने जुवा खेलाउनकै लागि टिनको टहरा बनाइएको भेटिएको छ । खालबाट पक्राउ परेका कोटेश्वर निवासी गणेश घिमिरेको साथबाट दुई लाख दुई हजार रुपैयाँ बरामद भएको थियो । पक्राउ परेका अधिकांशको साथबाट दस हजारभन्दा बढी रकम भेटिएको थियो ।
प्रहरी र स्थानीय प्रशासनले तिहारको समयमा घरपरिवारका सदस्यहरूमाझ मनोरञ्जनका लागि तास खेल्न छुट दिए पनि कानुनतः जुवातास अवैध मानिन्छ । तिहारको समयमा भने खुलमखुला खाल सञ्चालन गरेको भेटिन्छ । जुवातासबाट हुने हार-जितले विभिन्न सामाजिक अपराध र विकृति निम्तिने भन्दै प्रहरीले सुराकी परिचालन गरी छापा मार्ने अभियान थालेको हो ।

Source-ekantipur

No comments:

Post a Comment