Monday, October 29, 2012

राष्ट्रपतिद्वारा नेताहरूलाई सहमति गर्न पुनः दबाब

काठमाडौं, कार्तिक १३ - राष्ट्रपति रामवरण यादवले राजनीतिक गतिरोध अन्त्यका लागि छिटो सहमतिमा पुग्न प्रमुख दलका नेताहरूलाई पुनः दबाब दिएका छन् । प्रमुख दलका शीर्ष नेताहरूलाई आइतबार शीतल निवास डाकेर राष्ट्रपतिले बढ्दो संवैधानिक र आर्थिक संकटबारे सचेत गराएका हुन् । उनले कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राजनीतिक गतिरोध अन्त्यका लागि जारी परामर्शकै निरन्तरताका रूपमा उनीहरूसँग छलफल भएको जानकारी दिए । 'राष्ट्रपतिज्यूले नेताहरूलाई चाँडै सहमति गर्नुहोस् भन्ने आग्रह दोहोर्‍याउनुभएको छ,' उनले भने, 'यो विगत भेटघाटकै निरन्तरता हो ।' यसअघि यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
एमाले अध्यक्ष खनालका अनुसार राजनीतिक संकटबारे बढी नै चिन्तित देखिएका राष्ट्रपति यादवले उनीसँगको छलफलमा चाँडो सहमति हुनुपर्छ भन्नेमा विशेष जोड दिएका थिए । 'सहमतिको विकल्प छैन तर माओवादी मान्दैन,' उनले भने, 'त्यसैले राष्ट्रपतिज्यू हामी आन्दोलनमा लाग्छौं ।' एमाओवादीले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई निरन्तरता दिन मात्र चाहेको उनको विश्लेषण छ । 'राष्ट्रिय सहमतिको सरकार बनाऔं र चुनावमा जाऔं,' खनालले भने, 'राष्ट्रिय सरकार बनाउने विषयमा एमाओवादी तयार नभई वार्ता गरेर केही अर्थ छैन ।'
त्यस विषयमा कांग्रेससहितका प्रतिपक्षी दलहरूसँग आफूहरूको समान धारणा रहेको उनले बताए । 'सरकार बनाएपछि धेरै कुरामा छलफल गर्न सकिन्छ,' उनले भने ।
एमाओवादीका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले भने संविधान जारी गर्न संविधानसभा पुनःस्थापना गर्ने र त्यसपछिको निर्वाचनका लागि राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखे । 'राष्ट्रपतिज्यूसँग राजनीतिक सहमति र निकासमा केन्दि्रत कुरा भएको हो,' उनले भने, 'मैले संघीयता सुनिश्चित गर्ने र लोकतान्त्रिक गणतन्त्र संस्थागत गरी संविधान जारी गर्न पुनःस्थापना गर्ने, त्यसपछि निर्वाचनमा जान सहमतिको सरकार बनाउन सकिन्छ भन्ने हाम्रो पार्टीको धारणा राखें ।' चुनावमा जाँदा कुनै पनि प्रकारले अस्थिरता उत्पन्न हुने क्रियाकलाप नहोस् भन्नेमा सचेत रहनुपर्नेमा उनले जोड दिए ।
भेटमा राष्ट्रपति यादवले देशमा संवैधानिक संकट गहिरिएको र आर्थिक संकट नजिक आइरहेको उल्लेख गर्दै समस्याको छिटो समाधानका लागि गम्भीर बन्न ध्यानाकर्षण गराएका थिए । संवैधानिक निकायहरूको रिक्तता र बजेट समस्याप्रति उनले विशेष चिन्ता व्यक्त गरेको श्रेष्ठले बताए । 'त्यसका लागि पनि छिटो निकासमा पुग्नैपर्ने अवस्था छ,' उनले भने ।
उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया थाल्ने सम्भावना अस्वीकार गरे । 'आजको कुरामा त्यस्तो पाइनँ,' कान्तिपुरको जिज्ञासामा उनले भने, 'मैले कदम चाल्ने होइन, निकास दिने राजनीतिक दलहरूले हो भन्नुभएको छ ।' राष्ट्रिय सहमतिका लागि म त सहजकर्ता मात्र हो भन्नेमा आफूमा द्विविधा नभएको उल्लेख गर्दै यादवले राजनीतिक पार्टीहरूले सहमतिमा निकाल्ने निकासमा राष्ट्राध्यक्षले अन्यथा नगर्ने बताएको उनले जानकारी दिए । दलका नेताहरूले सहमतिका लागि समय दिने तर पालना नगर्ने प्रवृत्तिप्रति पनि राष्ट्रपतिले दुःख व्यक्त गरेका थिए । 'यसले दल र नेताको विश्वसनीयता कमजोर बनाउँछ भन्ने उहाँको चिन्ता छ,' श्रेष्ठले भने । निकासको विकल्पमा आफूहरूको छलफल प्रवेश नभएको उनले बताए ।

Source-ekantipur

No comments:

Post a Comment