Thursday, November 1, 2012

डीएसपीद्वारा आत्महत्या

काठमाडौ, कार्तिक १६ - यूएन मिसनमा जाने तयारीमा रहेका नेपाल प्रहरीका बहालवाला डीएसपी वसन्तकुमार थापाले झुन्डिएर आत्महत्या गरेका छन् । प्रहरी मुख्यालयको एक नम्बर गणमा यूएन मिसनका लागि तालिम गरिरहेका थापाले मंगलबार राति गोकर्णस्थित घर नजिकैको जंगलमा नाइलनको डोरीले पासो लगाई आत्महत्या गरेका हुन् ।
बेलुका ५ बजे घरबाट निस्किएका उनी राति ९ बजे हनुमान मन्दिर छेउको रूखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । राति अबेरसम्म घर नआएपछि परिवारले खोजतलास सुरु गरेको थियो । साथीभाइ र नातेदारसँग बुझ्दा फेला नपरेपछि उनको कोठा खानतलासी लिँदा सुसाइड नोट फेला परेको थियो । उनले नोटमा आफूलाई बुवाले बोलाएको र आफू जान लागेको उल्लेख गरेका थिए । परिवारका सदस्यलाई सम्बोधन गर्दै आफ्नी श्रीमती र छोराछोरीलाई हेला नगर्न भनेका छन् । ४३ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक कुशलता भएका, साहसी र इमान्दार मानिन्थे । दुई पटक यूएन मिसन गएका उनी धेरैसँग खुलेर नबोल्ने गरेको उनका समकक्षीहरू बताउँछन् । थापाले आत्महत्याको योजना पहिले नै बनाएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार मंगलबार दिउँसो तालिम गर्न ल्याएका सबै सामान लिएर उनी घर लागेका थिए । घर जाँदै गर्दा उनले आफूसँगै तालिम गरिरहेका सहकर्मीलाई 'राम्रोसँग मिसन गएर आउनु' भन्दै हिँडेको गणका एक प्रहरी अधिकृतले बताए । 'आफूहरूसँगै मिसन जान लागेका डीएसपीले राम्ररी गएर आउनु भन्दा के भनेको हो भन्ने लागिरहेको थियो,' ती अधिकृतले भने, 'राति अचानक यस्तो घटना सुन्नुपर्‍यो ।' पूर्वप्रहरी महानिरीक्षक श्यामभक्त थापाका भतिजा पर्ने डीएसपी थापा जिल्ला प्रहरी कार्यालय खोटाङबाट मिसनमा जानकै लागि काठमाडौं आएका थिए । दसैंका बेला तालिममा रहेका प्रहरीलाई असोज २ देखि १३ गतेसम्मको बिदा दिइएको भए पनि थापा बिदाका बेलासमेत गणमा गएर बस्ने गरेका थिए ।

Source-ekantipur

No comments:

Post a Comment