Sunday, November 4, 2012

काखे नानी च्यापेर बालिका अदालततिर

जाजरकोट, कात्तिक १९ -१५ वर्षीया बालिका आफ्नो डेढ महिने शिशुको बाबु खोज्दै अदालत धाउँदैछिन्। बिदेसिएका श्रीमानकहाँ पुर्याटइदिन्छु भन्दै छिमेककै युवकले गर्भवती बनाएर अलपत्र पारेपछि उनी नाबालिकाको हक माग्दै अदालत धाउन थालेकी हुन्।
रुकुम आठबिसकोटकी सुष्मा परियारको तीन वर्षअघि जाजरकोट खलंगा- ९ पिपेका धनबहादुर परियारसँग बिहे भएको थियो। भारत दनाउ कुरदारमा कमाइ गर्न गएका धनबहादुरसँग भेटाइदिन्छु भन्दै खलंगा- ९ रावतगाउँका पृथ्वीबहादुर रावतले गत मंसिरमा सुष्मालाई घरबाट हिँडाए। रावतले आफूलाई श्रीमान नभेटाई अन्तै लिएर ललाई-फकाई गर्भवती बनाएर अलपत्र पारेको भन्दै उनी जाजरकोट अदालतको शरणमा पुगेकी हुन्। सुष्माका अनुसार आफ्ना सासूससुराको सल्लाहमा रावतले उनलाई बिचल्ली पारेका हुन्।
आफूलाई श्रीमान भेटाइदिन्छु भन्दै भारत पुर्या्एर गर्भवती बनाई चण्डीगढ राज्यको मसपुरमा अलपत्र छाडी रावत बेपत्ता भएको सुष्माले जनाइन्।
सुष्मालाई अहिले बच्चाको पहिचानमात्र होइन, गाँसबासकै समस्याले सताएको छ। श्रीमान भेटेर सँगै गाउँ फर्किएकी सुष्माको गत असोज २ गते बच्चा जन्मिएको छ।
माइती गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दापढ्दै भागी विवाह गरेकी उनी यतिबेला ठूलो समस्यामा रहेको आमा तुली परियारले नागरिकसँग बताइन्। बच्चाको पहिचान र लालनपालनको व्यवस्थाका लागि गत असोज २२ गते जिल्ला अदालत जाजरकोटमा जाहेरी दिएको तुलीले जनाइन्।
कमजोर आर्थिक अवस्थाकी सुष्मालाई परपुरुषको पेट बोकेको भन्दै श्रीमान र सासूससुराले घरबाट निकालिदिएको र रावत पनि भागेर हिँडेपछि उनी संकटमा छिन्।
रावतले आठ-दस हजारमा समस्या मिलाइदिन आग्रह गरेको एक स्थानीयले बताए। कुनै हालतमा बच्चा स्वीकार गर्दिनँ भनेर पृथ्वीबहादुर भागीभागी हिँड्ने गरेको सुष्माकी आमा तुलीले बताइन्।

Source-ekantipur

No comments:

Post a Comment