Tuesday, October 30, 2012

सवारी दुर्घटनामा दुईको मृत्यु

बुटवल, १३ कात्तिक । रुपन्देहीका विभिन्न क्षेत्रमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका छन् ।
जिल्लाको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–बर्दघाट खण्डको देवदह–७ मा गुल्मीबाट काठमाडौँतर्फ जाँदै गरेको जिल्ला कृषि विकास कार्यालय गुल्मीको बा१झ ३७९३ नम्बरको जिपले स्थानीय ५५ वर्षीय साइकल यात्री लोकनाथ खरेललाई ठक्कर दिँदा निजको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
जिपको ठक्करबाट गम्भीर घाइते खरेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधन तथा चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाको छ ।
यस्तै भैरहवा–परासी सडक खण्डअन्तर्गत जिल्लाको धकधई–१ रामनगरमा पूर्वदेखि भैरहवातर्फ आइरहेको बा९च ६९९० नम्बरको निजी कारले आजै ठक्कर दिँदा पैदलयात्री स्थानीय आठ वर्षीया लक्ष्मी बानियाको मृत्यु भयो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भई उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटोमै बानियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आजै बुटवल नगरपालिका–११ स्थित बसपार्कभित्र लु१ख २९०२ नम्बरको बसले गाडीहरूमा ग्रिस गर्ने बुटवल नपा–६ बस्ने ४२ वर्षीय अशोक परियारलाई ठक्कर दिएको छ ।
घाइते परियारको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको र सवारी साधन तथा चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment