Tuesday, October 30, 2012

नर्वेले दक्ष नेपालीलाई भिसा दिन रोक्यो

ट्रोम्सो ( नर्वे ), कार्तिक १४ - नर्वे ले नेपालबाट आउने दक्ष र विशेषज्ञ भिसालाई रोक लगाएको छ । नर्वे ली अध्यागमन (युडीआई) को यो निर्णयबाट नर्वे पुगिसकेका ५ दर्जन नेपाली र नेपालमा महिनौदेखि भिसा कुरेर बसेका ३ सय जना दक्ष भनिएका नेपाली प्रभावित भएका छन् ।

खासगरी दक्षिण एसियाली राष्ट्र भारत, नेपाल र श्रीलंकाबाट दक्ष कामदारको भिसामा नर्वे भित्रिनेको संख्यामा नाटकीय वृद्धि भए पनि उनीहरू अन्य युरोपेली राष्ट्रतिर पलायन हुन थालेपछि नर्वे का श्रममन्त्री हन्ना ब्युरस्त्रोमको निर्देशनमा ती ३ देशका दक्ष कामदारलाई दिइँदै आएको भिसा हाललाइ बन्द गरिएको छ । नर्वे ली अध्यागमनका अनुसार गतवर्ष ती देशबाट कुल ५०९ वटा भिसा आवेदन परेकोमा यो वर्षको विगत ६ महिनामा मात्र १ हजार १ सय ८६ जनाले दक्षताको दाबी गर्दै काम खोजीका लागि नर्वे प्रवेश अनुमति मागेका थिए । जसमा भारतबाट ७००  सय र नेपालबाट ३०० जना रहेका छन् । ती मध्ये यो वर्ष ३ महिलासमेत २५ जना नेपालीलाई मात्र दक्षता अनुसारको काम खोजी गर्न नर्वे प्रवेश अनुमति दिइएको छ ।

नर्वे ले कुनै पनि व्यावसायिक प्रशिक्षण लिएका वा कुनै पनि व्यावसायिक विषयमा ३ वर्षको उच्च माध्यमिक तहसम्मको अध्ययन गरेका र विशेषज्ञ आप्रवासीलाई बसोबास अनुमति दिँदै आएको छ । जबसेक्योर भिसामा नर्वे आउन चाहने गैर युरोपेली दक्ष कामदारले आफ्नो दक्षताको प्रमाणसहित बस्ने ठाउँ र काम खोजी गर्ने अवधि ६ महिनाका लागि नर्वे मा खान, बस्न लाग्ने खर्च १ लाख ७ हज्जार ४ सय ५० नर्वे ली क्रोनर (झन्डै १५ लाख रुपैयाँ) बैंक दाखिला देखाउनु पर्ने व्यवस्था छ ।

नर्वे मा यो प्रक्रियाबाट भित्रिने कामदारले स्थानीय रोजगारदाता कम्पनी वा व्यक्तिसँग काम सम्बन्धी श्रम सम्झौता गरेपछि मात्र अध्यागमनले काम गर्ने अनुमति जारी गर्छ तर स्थानीय भाषाको जटिलता र दक्षताको कमीकै कारण काम पाइहाल्न भने सजिलो छैन । केही वास्तविक विशेषज्ञ र दक्षिण एसियाली आप्रबासीद्वारा सञ्चालित साना तिना होटल, रेस्टुरेन्ट र व्यक्तिगत चिनजानको आधारमा फाट्ट फुट्ट काम पाएका बाहेक अधिकांश दक्ष भनिएका नेपाली बेरोजगार छन् ।

नर्वे मा काम खोजी गर्ने तोकिएको ६ महिनाको म्याद गुज्रिसके पनि काम पाउन नसकेपछि अधिकांश नेपाली यति बेला मानसिक तनावमा छन् । जबसेक्योर भिसाको चाजो पाजो मिलाउने कन्सल्टेन्सीलाई झन्डै ३ लाख रुपैयाँ बुझाएर ४ महिना अघि नर्वे आएका नवलपरासीका रामचन्द्र खनाल संसारकै महँगो देशमा नेपाली रुपैयाँ खर्चिएर कामको खोजीमा २ जोर जुत्ता फटाए पनि हालसम्म काम पाउन नसकिएको बताउँछन् ।

नर्वे आउनु अघिसम्म प्राध्यापन पेसामा रहेका खनाल भाषा सिक्न सके काम पाउन सकिने कुरामा भने आशावादी छन् । यसरी नर्वे भित्रिएका नेपालीको पूर्व सर्त अनुसार दक्षतामा प्रश्न उठाइए पनि अधिकांशले नेपालमा उच्च शिक्षा हासिल गरेका छन् । जबसेक्योर भिसामा लाखौं रुपैयाँ खर्चिएर र आ-आफ्नो पेसा व्यवसाय छोडेर नर्वे आएका नेपाली कामको खोजीमा महिनौं भौंतारिँदा पनि काम पाउन नसकेपछि अलपत्र परिने पीडाले स्थानीय गैर आवासीय नेपाली संघमा हार गुहार गर्न थालेका छन् । केही नेपाली भने युरोप बसाइ लम्ब्याउन अन्य युरोपेली देशतिर समेत लाग्न थालेका छन् । राजधानी ओस्लोमा बस्दै आएका नर्वे ली भाषा अध्यनरत एक नेपाली विद्यार्थी लुबराज उप्रेतीका अनुसार, निकै ठूलो संख्यामा नेपाली जबसेकरहरुले नर्वे ली भाषा सिक्न भन्दै भिसा म्याद बढाइ पाउन अध्यागमनमा आवेदन गरेका छन् । ती मध्ये केहीले भाषा पढेर बस्ने अनुमति पाएका छन् ।
नर्वे ली अध्यागमन अधिकारिहरुले भने खासगरी नेपाल, भारत र श्रीलंकाबाट एजेन्ट मार्फत नर्वे भित्रिएका जबसेकरहरुले पूर्व सर्तानुसार पेस गरेको  दक्षता, बैंक दाखिला र आवाससम्बन्धी अधिकांश कागजात नक्कली भएको हुन सक्ने आशंका गरेका छन् । श्रम मन्त्री ब्युरस्त्रोमले भनिन् ‘यो दक्ष कामदार आयात गरिने नर्वे ली नियमको दुरुपयोग र एजेन्टहरुबाट ठगि भएको बुझ्न सकिन्छ ।’ युडीआईका अनुसार नियम दुरुपयोग रोक्न संशोधनका लागि अध्ययन सुरु गरिए पनि वास्तविक दक्ष कामदारको हकमा भने विशेष जाँचबुझ गरी भिसा जारि गर्न सकिने छ ।
नर्वे का गैर आवासीय राजदूत रहेका डेनमार्कका लागि नेपाली राजदूत मुक्ति नाथ भट्टले नेपालमा विश्व विद्यालयसम्म प्राध्यापन गर्ने नेपाली समेत आएर एजेन्टबाट ठगिने गरेको आफूले सुने पनि आफू केही साता अघि मात्र नर्वे का लागि समेत नियुक्ति पाएकाले विस्तृत बुझ्न नपाएको बताए । वैदेशिक रोजगारमा सक्रिय एजेन्टको जालो बारे धेरै तित्तो अनुभव आफूसँग भएको बताउँदै उनले रोजगारीका लागि आउनेले सतर्कता अपनाउनु पर्नेमा जोड दिए । नेपाली वास्तविक दक्ष कामदारलाई नर्वे निर्यात गर्न सके ठुलो उपलब्धि हुने सकार्दै उनले नेपाली एजेन्टबाट ठगिएको बारे आधिकारिक जानकारी आए आफुले आबश्यक कारबाहीका लागि पहल गर्ने समेत बताए ।
सन् १९६० को अन्त्यतिर उत्तरी समुन्द्रमा पर्याप्त तेल र ग्यास फेला परेपछि नर्वे ले लगातार चरम आर्थिक र औद्योगिक विकास गर्दै आएको छ । खासगरी युरोपेली आर्थिक क्षेत्रका कामदारलाई प्राथमिकता दिने नर्वे ले सन् २०१० देखि मात्र गैर-युरोपेली दक्ष जनशक्ति नर्वे भित्र्याउने नीति लिएको थियो । संयुक्त राष्ट्र संघको मानव सूचकांकमा बसोबासका लागि संसारकै उत्कृष्ट नर्वे मा समान लोककल्याणकारी सरकारी नीति, न्यून बेरोजगारी र उच्च ज्याला दरका कारण बर्सेनि दसौं हजार आप्रवासी कामदारको ओइरो लाग्ने गर्छ । नर्वे ली राष्ट्रिय तथ्यांक अनुसार, ५० लाखभन्दा कम जनसंख्या रहेको नर्वे मा खासगरी युरोपेली राष्ट्रहरू पोल्याण्ड, लीथुनिया, आइसल्याण्ड, स्वीडेन, जर्मनी लगायत राष्ट्रका झन्डै ३ लाख ५० हज्जार विदेशी कामदार रहेका छन् । नर्वे लाई विशेष गरी औद्योगिक र निर्माण कामदार लगायत प्लम्बर, सफाई मजदूर साथै चिकित्सा र इन्जिनियरिङ्ग क्षेत्रमा विशेषज्ञको आवस्यकता रहेको छ । सामान्यतया एक दक्ष प्लम्बरको वार्षिक तलब सरदर ५ लाख क्रोनर (करिब ७० लाख रुपैयाँ) हुने गर्दछ । विश्वकै धनीमध्ये कहलिएको नर्वे मा वास्तविक दक्ष कामदार निर्यात कार्यलाइ नियमन र व्यवस्थित गर्न सके नर्वे दक्ष नेपाली कामदारका लागि आकर्षक गन्तव्य बन्न सक्ने राय सम्बन्धित विज्ञको रहेको छ ।

Source-ekantipur

No comments:

Post a Comment