Sunday, October 28, 2012

नेपालको ताजा सामाचार

यसै वर्षदेखि राष्ट्रिय परिचयपत्र

 

काठमाडौ, कार्तिक १२ - एक लाख नेपालीले जैविक पहिचानसहितको वैयक्तिक विवरणयुक्त राष्ट्रिय परिचयपत्र चालू आर्थिक वर्षभित्र प्राप्त गर्ने भएका छन् । सबै नागरिकको व्यक्तिगत विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समाविष्ट गर्दै हरेकको पहिचानका लागि बेग्लाबेग्लै परिचय नम्बर प्रदान गर्ने उद्देश्यले सरकारले त्यस्तो परिचयपत्र 'स्मार्ट कार्ड' वितरण गर्न लागेको हो । इन्टरनेटको सुविधा भएको देशको कुनै एउटा निर्वाचन क्षेत्रबाट यो आर्थिक वर्षको अन्त्यसम्ममा विद्युतीय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ सरकारले त्यससम्बन्धी तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा 'पाइलट' परियोजनाको रूपमा एक लाख नागरिकलाई औंठा छापसमेत भएको परिचयपत्र वितरणका लागि सरकारले त्यसको ढाँचा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्तुत गरिसकेको छ । तत्कालीन सचिव लीलामणि पौडेलले संयोजक रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार दुई वर्षअघि स्थापित राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले १६ वर्ष पूरा गरेका एक करोड आठ लाखभन्दा बढी नागरिकको तथ्यांक संकलन गरिसकेको छ । गृह मन्त्रालयअन्तर्गत स्थापना भएको उक्त केन्द्रले पाँच वर्षभित्र तीन चरणमा सबै नेपालीलाई उक्त परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ तयारी अघि बढाएको केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र दाहालले राससलाई बताए ।
पाइलट परियोजनापछि पहिलो चरणमा १५, दोस्रो र तेस्रो चरणमा क्रमशः २५ र ३५ जिल्लामा विस्तार गरिने जानकारी दिँदै उनले त्यससम्बन्धी विस्तृत परियोजना प्रतिवेदन एडीबीसमक्ष प्रस्तुत गरिसकेको बताए । 'परिचयपत्र बनाउनेलगायत सम्पूर्ण काम पूरा गर्ने प्रयोजनका लागि अन्तर्राष्ट्रिय बोलपत्रको प्रस्तावसमेत हामीले एडीबीलाई बुझाइसकेका छौं,' उक्त बैंकले चाँडै नै 'टेन्डर' गरेर काम अघि बढाउने विश्वास व्यक्त गर्दै उनले भने ।
एडीबीले सूचना तथा सञ्चार प्रविधि विकास (आईसीडी) का लागि ३८ जिल्ला छनोट गरेको तथा अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गरी लक्ष्य पूरा गर्नेगरी काम भइरहेको समेत उनले बताए ।
त्यसैगरी केन्द्रले सबै जिल्लाका लागि ल्यापटप कम्प्युटरको व्यवस्था गर्नुका साथै जिल्लामा स्थानीय क्षेत्र सञ्जाल -लोकल एरिया नेटवर्किङ), क्षेत्रीय, जिल्ला र इलाका प्रशासन कार्यालयमा आवश्यक यन्त्र एवं उपकरण जडान गरिसकेको छ । व्यक्तिगत विवरण प्रशोधन केन्द्र पनि निर्माण भइसकेको जनाएको छ । निर्वाचन आयोगले संकलन गरेको विवरण केन्द्रले प्रशोधन तथा जिल्ला प्रशासन, मालपोत, कर कार्यालयलगायत निकायसँग रहेको वैयक्तिक विवरण एकीकृत गरी केन्द्रीय राष्ट्रिय तथ्यांक भण्डारमा केन्द्रीकृत गरिरहेको छ ।



 

एकै परिवारमा ७ अपांग

निजगढ, कार्तिक १२ - सानो झुपडी घर । सबैजना अपांग । न व्यवसाय न सीप । यस्तो परिवार कसरी र कहिलेसम्म चल्ला ? हो सबैजना अपांग भएको एक परिवारले यहाँ यस्तै कहालीलाग्दो वातावरणमा दिन कटाइरहेको छ ।
पुरैनिया-९ का ५२ वर्षीय याद हुसेनसहित उनका ३ छोरी र ३ नातिनातिनीले यस्तै अपांग जिन्दगी भोगिरहेछन् । कतैबाट सहयोग नभएपछि छाक टार्न उनीहरूलाई समस्या छ । उनीहरू सबैजना दुवै खुट्टा जन्मजात अपांग छन् ।
खानकै पिरलोले उनीहरूलाई दिनरात सताएको छ ।
हुसेनका तीन छोरी ३० वर्षीया बरजेना खातुन, २८ वर्षीया नयीमा खातुन र २६ वर्षीया तसलीमा खातुन दुवै खुट्टाले अपांग छन् । तीन नातिनातिनी १५ वर्षीय मोलाजिम मियाँ, १३ वर्षीय सैफुलाह मियाँ र ११ वर्षीया लालमुनिका पनि दुवै खुट्टा चल्दैनन् । याद हुसेनले १९ वर्षअघि छोरी बरजेनाको बिहे गाउँमै गरे । पछि छोरी अपांग भएकै कारण ज्वाइँ गुलाब अन्सारीले छोरीसहित ३ नाति नातिनीलाई छाडेपछि छोरी र नातिनातिनीसमेत पनि वषौर्ंदेखि यादकै घर (माइती) मा बस्छन् ।
अहिलेसम्म इष्टमित्रको सहयोगले खाने गरे पनि निकै दुःखका दिन यो परिवारले बिताएको छ । 'भरणपोषणका लागि कतैबाट सहयोग भए गुजारा चल्ने थियो,' यादले दुःख पोखे, 'हामीले सक्ने सीप सिक्न पाए पनि हुन्थ्यो ।' उनले गाउँका धेरैले सहयोगभन्दा हेलाँ गरेको पीडा सुनाए । उनका छिमेकी एमामुल अन्सारीले सरकार वा दातृ निकायले यस्तो अपांग परिवारलाई सहयोग गर्नुपर्ने माग गरे ।



५१ हजार किलो खाद्यान अलपत्र


संखुवासभा, कार्तिक १२ - चीनको तिब्बतमा पहिरोले बाटो बिगारेपछि सीमावर्ती ३ गाविसका लागि तयारी राखिएको ५१ हजार २ सय किलो खाद्यान्न अलपत्र परेको छ । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत चीन सरकारले उपलब्ध गराएको उक्त चामल तिब्बतको रियु र साँगा बीचमा पहिरो गएपछि संखुवासभा ल्याउन सकिएको छैन । रियु र साँगाबीचमा अहिले पनि लगातार पहिरो झरिरहेको छ ।
जसका कारण खाद्य संकट भएका सीमावर्ती किमाथांका, हटिया र चेपुवाका स्थानीयलाई चामल वितरण गर्न नसकिएको जिविसले जनाएको छ । चीन सरकारले उपलब्ध गराएको ५१ हजार किलो चामल हटिया १, २ र ३, किमाथांका र चेपुवाका ११ सय परिवारलाई वितरण गरिने लक्ष्य राखिएको स्थानीय विकास अधिकारी लीला अधिकारीले बताए । 'अविरल वषर्ाका कारण उतैबाट चामल ल्याउन पाएनांै, दसैंका लागि वितरण गर्ने लक्ष्य राखेका थियौँ', उनले भने, 'दसैँअघि ल्याउने धेरै प्रयास गरेनाँै, तिब्बततिरै पहिरो गएकाले हामीले केही गर्न सकेनाँै ।'
रियु र साँगा बजारमा अहिले पनि लगातार वषर्ा भइरहेको उताका अधिकारीले जनाएको उनले बताए । 'हामीले तारन्तार बुझिरहेका छाँै, पहिरो पन्छाउन सकिएको छैन भन्ने जवाफ आउँछ', उनले भने, 'तिहारअघि जसरी पनि ल्याएर वितरण गर्छौं ।' उक्त खाद्यान्न भदौ दोस्रो साता जिविस कर्मचारी भोला गुरुङको नेतृत्वमा गएको टोलीले बुझेर रियुबजारसम्म ल्याएका थिए । 'त्यहीबेला पहिरो खसिरहेको थियो, किमाथांका ल्याउने प्रयास गरेका हांै सकिएन', टोली प्रमुख गुरुङले भने, 'सबै ल्याउन नसके पनि केही क्विन्टल ल्याउने प्रयास पहिरोका कारण सकेनौं ।'

राष्ट्रपतिद्वारा  चुनावमा जान सुझाव

काठमाडौं, कात्तिक १२- राष्ट्रपति रामवरण यादवले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग भेट गरी चुनावमा जान सुझाव दिएका छन्। राजनीतिक गतिरोध अन्त्यका लागि राजनीतिक परामर्श गरिरहेका राष्ट्रपतिले अदालतको म्याण्डेट पनि चुनाव नै भएको उल्लेख गरे।

    राष्ट्रपति भेट्न शीतल निवास पुगेका नेताहरुलाई राष्ट्रपति यादवले छिटो गतिरोध अन्त्य गर्न सुझाव दिएका थिए। राष्ट्रपतिले तिहार अघि नै सहमतिमा पुग्न आग्रह गरेका थिए।

राष्ट्रपति भेटेर फर्किएका कांग्रेस सभापति कोइरालाले आफूहरु पनि चुनावकै पक्षमा रहेको जानकारी गराएको संवाददाताहरुलाई बताए। 'मैले पनि संविधानसभा पुनर्स्थापाना अब सम्भव नभएकाले चुनावमै जानुपर्ने राय राखेँ', कोइरालाले भने।

कोइरालासँग परामर्श गरे लगत्तै राष्ट्रपति यादवले एमाले अध्यक्ष झलनाथ खनालसँग छफलफल गरे। एमाले अध्यक्ष खनालले राजनीतिक गतिरोध अन्त्यका लागि सहमतीय सरकार हुनु पर्ने राय राष्ट्रपति समक्ष राखेको उल्लेख गरे।

राष्ट्रपति यादवले हिजो एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका थिए।

Source-ekantipur 

No comments:

Post a Comment