Thursday, November 1, 2012

समुद्री आँधी क्यानडातर्फ

अमेरिकामा मृत्यु हुनेको संख्या ४ दर्जन नाघ्यो

 न्युयोर्क, कार्तिक १६ - आइतबार रातिबाट सुरु समुद्री आँधी को तनावबाट मुक्त भए पनि न्युयोर्क अझै अस्तव्यस्त नै छ । न्युयोर्कमा दससहित चार दर्जन बढीको ज्यान लिएको 'स्यान्डी' को प्रभावले यहाँको सार्वजनिक यातायात अझै खुल्न सकेको छैन ।

लाखौं लाख प्रभावित भएका छन् । 'न्युयोर्क मेट्रो सबवे' खुल्ने निश्चित भएको छैन भने सार्वजनिक बस सेवा आंशिक रूपमा सुरु भएको छ । न्युयोर्कका मुख्य पाँच भूमिगत सुरुङमध्ये 'लिङ्कन टनेल' मात्र खुला भएको छ । सबवेका सातवटा 'टनेल' मा पानी भरिएको छ । सबवे पुनः सुचारु नहुन्जेल न्युयोर्क अस्तव्यस्त हुने निश्चित छ । जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल आंशिक खुला भए पनि अन्य दुई विमानस्थल बुधबार बिहानसम्म खुल्न सकेका छैनन् ।

मिचिगन लगायत सत्र अमेरिकी राज्यहरूका असी लाख घरमा विद्युत् आपूर्ति विच्छेद भएको र आपूर्तिका लागि अझै केही दिन लाग्ने समाचार एजेन्सीहरूले जनाएका छन् । न्युयोर्कका शिक्षण संस्थाहरू बुधबार पनि बन्द रहेका छन् भने तल्लो म्यानहाटन क्षेत्र अझै जलमग्न छन् । न्युयोर्क स्टक एक्सचेन्ज खुला भएको छ । क्यारिबियन समुद्री क्षेत्रबाट सुरु भएको 'स्यान्डी' का कारण अमेरिकामा ३० अर्ब डलरभन्दा बढीको भौतिक क्षति एवं ३० अर्ब डलर बराबरकै व्यापार घाटा भएको विश्व अर्थतन्त्रसम्बन्धी ठूलो संस्था ग्लोबल इनसाइटले उल्लेख गरेको छ । स्यान्डी अमेरिकाबाट क्यानडातर्फ मोडिएको बताइएको छ । 


Source-ekantipur

No comments:

Post a Comment